अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले शब्द चयनमा संवेदनशील हुनुपर्ने अहिलेको समयमा, बेलायतको प्रतिष्ठित पत्रिका डेली टेलिग्राफ ले ‘थर्ड वर्ल्ड कन्ट्री’ (तेस्रो विश्वका देशहरू) भन्ने असंवेदनशील र अपमानजनक शब्द प्रयोग गर्दै समाचार प्रकाशित गरेको छ। उक्त समाचारमा निकारागुआ, उजबेकिस्तान, र एल साल्भाडोरलाई ‘थर्ड वर्ल्ड कन्ट्री’ भनेर उल्लेख गरिएको छ, जुन शब्द आजको समयमा अनुपयुक्त र अपमानजनक मानिन्छ। अष्ट्रेलिया इन्टरनेटको समग्र गुणस्तरको वैश्विक सूचकाङ्कमा तल झरेको छ, अब यो धेरै तेस्रो विश्वका देशहरूभन्दा पनि खराब अवस्थामा पुगेको छ भन्दै यो समाचार डेली टेलिग्राफले पोस्ट गरेको हो।
यो शब्द पहिलोपटक 1952 मा फ्रान्सेली अर्थशास्त्री अल्फ्रेड साउवीले प्रयोग गरेका थिए। त्यसबेला शीतयुद्ध चलिरहेको थियो, र विश्वलाई तीन भागमा बाँडिएको थियो –
फर्स्ट वर्ल्ड (पहिलो विश्व) – संयुक्त राज्य अमेरिका र उसका पश्चिमी गठबन्धनहरू।
सेकेन्ड वर्ल्ड (दोस्रो विश्व) – सोभियत संघ र साम्यवादी देशहरू।
थर्ड वर्ल्ड (तेस्रो विश्व) – ती देशहरू जसले कुनै पनि गुट रोजेका थिएनन्, विशेष गरी अफ्रिका, ल्याटिन अमेरिका, र एसियाका नवउदीयमान राष्ट्रहरू।
तर समयसँगै, यो शब्दलाई अविकसित वा गरिब देशहरूको सूचकको रूपमा गलत तरिकाले प्रयोग गरियो। आज ‘थर्ड वर्ल्ड’ भन्ने शब्दले नकारात्मक ध्वनि दिन्छ, जसले यी राष्ट्रहरूलाई पछि परेको, अविकसित, वा कमजोर देखाउने प्रयास गर्छ। वास्तविकता भने फरक छ – धेरै यस्ता देशहरू विकासशील वा उदीयमान अर्थतन्त्र भएका राष्ट्र हुन्।
आजका अन्तर्राष्ट्रिय संस्थाहरू र विज्ञहरूले ‘थर्ड वर्ल्ड’ भन्ने शब्दको सट्टा ‘विकासशील राष्ट्र’, ‘ग्लोबल साउथ’, वा ‘उदीयमान अर्थतन्त्र’ जस्ता शब्द प्रयोग गर्न सुझाव दिएका छन्। संयुक्त राष्ट्रसंघ (UN), विश्व बैंक (World Bank), र अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) ले समेत यस शब्दलाई प्रयोग गर्न छाडिसकेका छन्।
अतः डेली टेलिग्राफ जस्तो प्रतिष्ठित मिडियाले यस्तो पुरानो, अव्यावहारिक, र अपमानजनक शब्दलाई आफ्नो समाचारमा प्रयोग गर्नु लज्जास्पद कुरा हो। यस्तो गैरजिम्मेवार पत्रकारिताले अन्तर्राष्ट्रिय सम्बन्ध बिगार्न सक्छ र गलत सन्देश प्रवाह गर्छ।
पत्रकारितामा सही शब्द प्रयोग अति आवश्यक हुन्छ। आधुनिक समयको पत्रकारिताले संवेदनशीलता र तथ्यपरकता कायम राख्नुपर्छ। ‘थर्ड वर्ल्ड’ भन्ने शब्द केवल ऐतिहासिक सन्दर्भमा मात्र उपयुक्त हुन सक्छ, तर आजको विश्वमा यसको प्रयोगले हेपाहा प्रवृत्ति झल्काउँछ। डेली टेलिग्राफ ले यस्तो गल्ती स्वीकार गर्दै भविष्यमा सचेत भएर समाचार लेख्नु आवश्यक छ।
डेली टेलिग्राफले गरेको पोस्टको खण्डन गर्दै नेपाली संचारले आफ्नो सब्द चयनमा सुधार ल्याउन अनुरोध गर्दै आफ्नो शब्द राखेको छ।
उहाँ Nepali Sanchar Radio Australia डट कम का लागि सम्पादक तथा संवाददाता हुनुहुन्छ |